काठमाडौं । नेपालका हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईसीटीसँग मिलेर भक्तपुरको साँगामा ‘फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएका छन् । एक अर्ब लगानीमा निर्मित सो रिसोर्ट मंगलबार (१८ बैशाख) बाट संचालनमा आएको हो।

फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं, भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ, त्यसैले हामी हाम्रो सञ्जालको प्रयोग गर्दै फर्चुन होटल्सकाे सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’
हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ, विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ।’

काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्चुन रिसोर्ट एण्ड बेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ ।
साथै, होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रूपमा रहेको नेपालमा आतिथ्य संस्कारमा एउटा अर्थपूर्ण छाप छोड्ने विश्वास लिएको छ।
फर्च्यून होटलसँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, ‘फर्चुन होटलसँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौँ, फर्च्यून होटल एक चर्चित होटल सञ्जाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो, फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ, हामी आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढंगले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्याउनेछौँ ।’
जैनका अनुसार रिसोर्टसहित अन्य संचरनामा एक अर्ब रुपैयाँ लगानी भएको छ ।
रिसोर्टमा उपलब्ध सुविधाहरू
थुप्रै फराकिला ब्यांकवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यका रूपमा पनि विकास हुने अपेक्षा राखेको छ ।
शान्त वातावरणमा अवस्थित फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ ।
रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रूम, जिम, स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्ने बताइएको छ ।
शाकाहारी खानाका पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुरा उपलब्ध छन् । साथै, नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिरा उपलब्ध हुने रिसोर्टले जनाएको छ ।
रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फंसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । रिसोर्टमा करिब ६ सय पाहुना अटाउने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend