काठमाडौं । ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालले आफ्नो स्थापना दिवसको ३१औँ वर्षगाँठ विभिन्न सामाजिक तथा व्यावसायिक कार्यक्रमसहित मनाउने भएको छ। महासंघका अध्यक्ष ठूलोबाबू श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पूर्ण व्यवसायी, शुभेच्छुक तथा सरोकारवालालाई सहभागी हुन आग्रह गरेका छन्।
उनका अनुसार स्थापना दिवसलाई भव्य र अर्थपूर्ण बनाउन रक्तदान, वनभोज, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रका साथ आयोजना गरिने रक्तदान कार्यक्रममार्फत बिरामीहरूको सेवामा योगदान पुर्याउने लक्ष्य राखिएको छ भने वनभोज कार्यक्रमले व्यवसायीहरूबीच आपसी सद्भाव, एकता र चिनजान अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
त्यस्तै, सांस्कृतिक कार्यक्रममार्फत नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै मनोरञ्जन प्रदान गरिनेछ भने खेलकुद गतिविधिले व्यवसायीहरूको शारीरिक स्फूर्ति र भ्रातृत्व कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष श्रेष्ठले यी सम्पूर्ण कार्यक्रमहरूले व्यवसायीहरूलाई एउटै सूत्रमा बाँध्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सबै व्यवसायीहरूलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।
उक्त कार्यक्रम वैशाख २१ गते काठमाडौंको बालाजु बाइशधारामा बिहान १२ बजे आयोजना हुने जनाइएको छ। महासंघले “एकता नै हाम्रो शक्ति हो, व्यावसायिक हकहित हाम्रो प्रतिबद्धता हो” भन्ने नारासहित स्थापना दिवस मनाउन लागेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend