काठमाडौं । नेपालकै ठूला चिकित्सा तथा प्रयोगशाला सम्बन्धी प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ आगामी १७ बैशाखदेखि काठमाडौंमा आयोजना हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले स्वास्थ्य सेवा, डाइग्नोष्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनीको नवौं संस्करण भृकुटीमण्डपमा सञ्चालन हुने जानकारी दिएको हो।
एस डी प्रोमो मिडिया प्रा.लि.ले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको उक्त एक्स्पो १७ देखि १९ बैशाखसम्म तीन दिन सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा नेपाल, भारतलगायत विभिन्न देशका २०० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिनेछ। यसले स्वास्थ्य सेवा तथा प्रयोगशाला विज्ञानमा प्रयोग हुने नवीनतम प्रविधि, उपकरण र समाधानहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमालले नेपालमा सरकारीबाहेक वार्षिक करिब २० अर्ब रुपैयाँ बराबरको मेडिकल उपकरण कारोबार हुने उल्लेख गर्दै एक्स्पोले प्रविधि आदान–प्रदान र व्यवसाय विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण ‘बीटुबी’ प्लेटफर्मका रूपमा लिइएको छ। यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदान–प्रदान तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको भनाइ छ।
एस डी प्रोमो मिडियाका अनुरोध परासरका अनुसार प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मोफिसर साइन्टिफिक, ह्युमन डाइग्नोष्टिक, स्निबे, ड्रागर र सिटीके बायोटेकजस्ता विश्वप्रसिद्ध कम्पनीहरूको सहभागिता सुनिश्चित भइसकेको छ। “यो नेपालकै सबैभन्दा ठूलो मेडिकल एक्स्पो हो,” उनले भने।
आयोजक कम्पनीका निर्देशक विवेक विक्रमले नवौं संस्करणले स्थापित कम्पनी तथा नयाँ उद्यमी दुवैलाई आफ्ना उत्पादन र आविष्कार प्रदर्शन गर्ने, नयाँ साझेदारी निर्माण गर्ने तथा उद्योगको समग्र विकासमा योगदान पुर्याउने अवसर प्रदान गर्ने बताए।
उक्त एक्स्पो विशेषगरी अस्पताल, नर्सिङ होम, डाइग्नोष्टिक सेन्टर, औषधि कम्पनी, अनुसन्धान संस्था, विश्वविद्यालय, मेडिकल कलेज, ब्लड बैंक तथा खाद्य परीक्षण प्रयोगशालासँग सम्बन्धित निर्णयकर्ता तथा खरिदकर्तालाई लक्षित गरिएको छ। साथै दक्षिण एसियाभरका विदेशी खरिदकर्ताहरूको समेत सहभागिता रहने जनाइएको छ।
नेपालमा स्वास्थ्य सेवा तथा प्रयोगशाला क्षेत्रमा बढ्दो प्रविधि आवश्यकताबीच यस्तो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीले ज्ञान, प्रविधि र व्यवसायिक सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend