काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले आगामी बजेटमार्फत कृषिजन्य क्षेत्रको स्पष्ट पहिचान गर्दै देशभर कृषि संरचना विस्तार गर्न सरकारसँग माग गरेका छन्। उनले ७७ वटै जिल्लामा कृषि शाखा कार्यालय स्थापना गरी उत्पादनमुखी कृषि प्रणालीलाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।
उनले नेपाल सरकारले कृषिमा न्यूनतम २ देखि ५ प्रतिशतसम्म लगानी सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै, यसले उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। लुईटेलका अनुसार, कृषि क्षेत्रको योजनाबद्ध विकासबिना देशको आर्थिक स्थायित्व सम्भव छैन।
उनले विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै मन्द विषको प्रयोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। “स्वस्थ नागरिकका लागि सुरक्षित खाद्य प्रणाली अनिवार्य छ,” उनले भने, “यसका लागि कडा अनुगमन र प्रभावकारी नीति कार्यान्वयन आवश्यक छ।”
डा. लुईटेलले कृषिलाई प्राथमिकतामा राख्दै बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्, जसले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend