सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निजी क्षेत्रको समग्र विकासका लागि शुरज बन्जाडेको उम्मेदवारी, नरेशलाल श्रेष्ठ प्यानललाई बहुमत दिलाउन अपिल

निजी क्षेत्रको समग्र विकासका लागि शुरज बन्जाडेको उम्मेदवारी, नरेशलाल श्रेष्ठ प्यानललाई बहुमत दिलाउन अपिल

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचन नजिकिँदै गर्दा कार्यकारी समिति सदस्य पदका उम्मेदवार शुरज बन्जाडेले आफ्नो उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा नभई निजी क्षेत्रको समग्र विकासको स्पष्ट दृष्टिकोणबाट प्रेरित भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले उद्योगी–व्यवसायीहरूको वास्तविक समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

हाल जुता उत्पादक संघका अध्यक्ष तथा साबित्री शु इन्डस्ट्रीज प्रा.लि.का प्रबन्ध निर्देशक रहेका बन्जाडेले आफूले उद्योग क्षेत्रको समस्या नजिकबाट बुझेको अनुभव रहेको बताएका छन्। “महासङ्घ र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु आजको आवश्यकता हो,” उनले लेखेका छन्, “नीतिगत स्पष्टता, व्यवहारिक सुधार र उद्योगमैत्री वातावरण निर्माणका लागि महासङ्घले सरकारसँग नियमित संवाद र सहकार्यलाई सुदृढ बनाउनुपर्छ।”

उनले वर्तमान जटिल आर्थिक अवस्थालाई संकेत गर्दै युवाहरूको विदेश पलायन रोक्न निजी क्षेत्रको सशक्त भूमिका आवश्यक रहेको औंल्याएका छन्। “देशमै रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्न सकियो भने मात्र युवाहरूलाई स्वदेशमै रोक्न सकिन्छ,” उनले उल्लेख गरेका छन्।

बन्जाडेले विकास योजनाहरू कागजमै सीमित भइरहने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै कार्यान्वयन पक्षलाई मजबुत बनाउन महासङ्घले सरकारसँग सहकार्य गर्दै दीर्घकालीन रणनीति अघि सार्नुपर्ने बताएका छन्। साना तथा मझौला उद्योगलाई प्रोत्साहन, स्वदेशी उत्पादनको प्रवर्द्धन र निर्यात वृद्धि गर्ने स्पष्ट रोडम्याप तयार गर्न आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।

उनले निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा सरकारसमक्ष प्रस्तुत गर्ने आफ्नो मुख्य लक्ष्य रहेको पनि बताएका छन्। “स्थिर नेतृत्व, स्पष्ट योजना र साझा प्रतिबद्धताले मात्र आर्थिक समृद्धिको मार्ग खोल्छ,” उनले भनेका छन्।

आगामी २०८३ वैशाख २१ र २२ गते हुने महासङ्घको निर्वाचनलाई लक्षित गर्दै बन्जाडेले आफू सहित नरेशलाल श्रेष्ठ नेतृत्वको प्यानललाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेका छन्। उनले श्रेष्ठको नेतृत्वमा महासङ्घले निजी क्षेत्रको हितलाई प्राथमिकता दिँदै सरकारसँग सहकार्यको नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

“तपाईंहरूको अमूल्य मतले मात्र यो अभियान सफल हुनेछ,” उनले अपिल गर्दै लेखेका छन्, “समृद्ध अर्थतन्त्र निर्माणका लागि सक्षम र दूरदर्शी नेतृत्व रोजौं।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend