सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं महानगरका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं महानगरका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

 काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालय आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने भएका छन्। नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत पठनपाठन तथा शैक्षिक गतिविधि सोही मितिबाट नियमित रूपमा सुरु गरिने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख गरेको छ।

सूचनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुवात, शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी र समग्र शैक्षिक अवस्थाको विश्लेषणपछि देखिएको अन्योल हटाउन यो निर्णय लिइएको हो।

महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ का सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ।

शिक्षा विभागले महानगरभित्रका विद्यालय, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा सम्बन्धित सरोकारवालालाई उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ। साथै सूचना प्रविधि विभागलाई सो सूचना महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशन गर्न निर्देशन दिइएको छ।

विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा विद्यालय सञ्चालनमा आवश्यक समन्वय, सहजीकरण तथा प्रभावकारी सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

महानगरपालिकाले अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई तोकिएको मितिदेखि विद्यालय सञ्चालनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend