काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने तयारी गरेको छ। संस्थाले आगामी जेठ २९ गते हुने २४औँ साधारण सभा तथा आठौँ अधिवेशनमा यससम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।
हालको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी कार्यकालका लागि अध्यक्ष बन्ने व्यवस्था रहेको छ। तर प्रस्तावित संशोधनमार्फत सबै पदमा खुला निर्वाचनको व्यवस्था गर्दै संस्थालाई थप लोकतान्त्रिक बनाउने लक्ष्य राखिएको इप्पानले जनाएको छ। यद्यपि, संशोधित व्यवस्था कहिलेबाट लागू गर्ने भन्ने विषयमा भने संस्थाभित्र अझै छलफल भइरहेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए।
विधान संशोधनको प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले नयाँ व्यवस्था तत्काल लागू नहुन सक्ने देखिएको छ। इप्पानका उपाध्यक्ष उत्तम भ्लोनका अनुसार संशोधित विधान जिल्ला प्रशासन कार्यालयमा अद्यावधिक भएपछि मात्र कार्यान्वयनमा आउनेछ। यस आधारमा हेर्दा दशौँ अधिवेशन (२६औँ साधारण सभा) बाट मात्रै पूर्ण रूपमा नयाँ व्यवस्था लागू हुन सक्ने अनुमान गरिएको छ। त्यसैले आसन्न आठौँ अधिवेशनबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष नवौँ अधिवेशनमा स्वतः अध्यक्ष बन्ने सम्भावना भने कायमै रहनेछ।
यसैबीच, संस्थाभित्र वरिष्ठ उपाध्यक्ष पद नै राख्ने वा हटाउने भन्ने विषयमा समेत बहस भइरहेको उपमहासचिव प्रकाश दुलालले बताएका छन्। प्रस्तावित नयाँ व्यवस्थाअनुसार अध्यक्षबाहेकका सबै पदमा साधारण सदस्यले निर्वाचन लड्न पाउनेछन्। अध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमिति सदस्य वा पदाधिकारी भइसकेको हुनुपर्ने योग्यता तोक्ने तयारी गरिएको छ।
इप्पानले सदस्यता व्यवस्थापनमा पनि कडाइ गर्ने निर्णय गरेको छ। तीन वर्षदेखि नवीकरण नभएका सदस्यहरूको अवस्थाबारे अध्ययन गरिनेछ भने नयाँ सदस्यका लागि जेठ १५ गतेसम्म आवेदन खुला गरिएको छ। साथै, नयाँ सदस्यताका लागि निवेदन दिएका १९ वटा कम्पनीलाई सदस्यता स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले विधान संशोधनको अन्तिम प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्ष कार्कीलाई सुम्पिएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend