सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महँगीले ढाड सेकिँदै, सरकार मौनः डॉ तारानाथ लुइटेल

महँगीले ढाड सेकिँदै, सरकार मौनः डॉ तारानाथ लुइटेल

काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि इन्धनसम्मको निरन्तर मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको भन्दै प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुइटेलले सरकारको भूमिका माथि गम्भीर प्रश्न उठाएका छन्। खबरब्रेकिंगसँगको कुराकानीमा उनले अहिलेको अवस्था कुनै रूपक नभई भान्साको चुलो बल्नै कठिन भएको यथार्थ भएको बताएका छन्।

उनका अनुसार इन्धनको मूल्यवृद्धिबाट सुरु भएको महँगीको शृङ्खला अहिले जीवनका सबै क्षेत्रमा फैलिएको छ। “यातायात भाडा आकासिएको छ, तरकारी, अन्न र खानेपानीजस्ता आधारभूत वस्तुहरू दिनानुदिन महँगिँदै गएका छन्,” उनले भने, “बोतल र जारको पानीमा ४० प्रतिशतसम्म मूल्य बढ्नु सामान्य विषय होइन, यो बजार अनुगमनको कमजोरी र राज्यको उपस्थितिको अभावको संकेत हो।”

लुइटेलले यस्तो संवेदनशील अवस्थामा सरकार मौन बसेको आरोप लगाए। उनले मूल्यवृद्धि नियन्त्रण, बजार अनुगमन सुदृढीकरण र उपभोक्ताको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

उनले चेतावनी दिँदै भने, “यदि यस्तै अवस्था जारी रह्यो भने सर्वसाधारणको दैनिक जीवन अझै संकटग्रस्त बन्दै जानेछ र सामाजिक असन्तोष बढ्ने खतरा रहन्छ।”

अहिलेको आर्थिक दबाबले विशेषगरी निम्न र मध्यम वर्गलाई प्रत्यक्ष असर पारिरहेको उनले उल्लेख गरे। सरकारको निष्क्रियता र बजारमा देखिएको असन्तुलनले स्थिति झन् जटिल बन्दै गएको उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend