काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक विधिअनुसार स्वचालित प्रणालीमार्फत पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतले बढ्दा भाडा समायोजन गरिनुपर्ने जनाएको हो ।
महासंघले पेट्रोलियम पदार्थमा भएको पछिल्लो मूल्यवृद्धि फिर्ता लिन पनि सरकारसँग अनुरोध गरेको छ । देशको वर्तमान विषम परिस्थितिको मूल्याङ्कन गर्दै सेवा सञ्चालन गरिरहेका सदस्य संघ, समिति र कम्पनीहरूबीच एकता र सहकार्य आवश्यक रहेको महासंघको भनाइ छ ।
यस्तै, नेपाल आयल निगम बाट भइरहेको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था गर्नुपर्ने माग पनि महासंघले राखेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्दै सेवा सञ्चालन गर्दा हुने घाटा न्यूनीकरण गर्न व्यवसायीहरूलाई आपसी समन्वयमा काम गर्न आग्रह गरिएको छ ।
महासंघले तोकिएको भाडादरमा नै सेवा सञ्चालन गर्न र अस्वस्थ प्रतिस्पर्धा नगर्न सदस्य संस्थाहरूलाई अनुरोध गर्दै दैनिक यात्रुको चापका आधारमा मात्र सवारी साधन सञ्चालन गर्न सुझाव दिएको छ ।
विज्ञप्तिअनुसार मध्यपूर्वमा अमेरिका, इजरायल र इरान बीच बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको र पटक–पटक डिजेल तथा पेट्रोलको मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन गर्न कठिन भएको महासंघले जनाएको छ ।
महासंघका महासचिव डेकनाथ गौतम ले यस्तो अवस्थामा सरकार संवेदनशील बन्नुपर्ने र यातायात व्यवसायीको समस्या समाधानतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend