काठमाडौं । निर्माण उद्योगमा प्रयोग हुने इन्धन तथा निर्माणजन्य सामग्रीहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धि कारण देशभर निर्माण क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको छ। नेपाल निर्माण व्यवसायी महासंघले यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग तत्काल हस्तक्षेपको माग गरेको छ।
महासंघका महासचिव शिवहरि घिमिरेद्वारा जारी पत्रअनुसार मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल र बिटुमिन जस्ता अत्यावश्यक सामग्रीहरूको मूल्य बारम्बार बढ्दै गएको छ, जसले निर्माण कार्यहरू सञ्चालन गर्न कठिन बनाएको छ। लागत अनपेक्षित रूपमा बढ्दा धेरै आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेका छन्।
यस विषयमा महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सम्बन्धित सरकारी निकायहरूसँग पटक–पटक छलफल गर्दै ध्यानाकर्षण गराएको जनाएको छ। उक्त छलफलका क्रममा सरकारले मूल्य समायोजनको प्रक्रिया अघि बढाउने र निर्माण व्यवसायीहरूलाई परेको अतिरिक्त भारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको महासंघले जानकारी दिएको छ। साथै, मन्त्रीपरिषद्बाट चाँडै नै मूल्य समायोजनसम्बन्धी उपयुक्त निर्णय हुने अपेक्षा गरिएको छ।
महासंघले सबै प्रदेश तथा जिल्ला निर्माण व्यवसायी संघहरूलाई पनि विशेष आग्रह गर्दै नयाँ बोलपत्र दर्ता गर्दा तथा सम्झौता गर्दा मूल्य समायोजनको प्रावधान अनिवार्य रूपमा समावेश गर्न अनुरोध गरेको छ। यसले भविष्यमा मूल्यवृद्धिका कारण हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
निर्माण क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसमा आएको अवरोधले समग्र अर्थतन्त्रमा समेत असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ। यस्तो अवस्थामा सरकारको छिटो र प्रभावकारी निर्णय नै निर्माण उद्योगलाई पुनः गतिशील बनाउन महत्वपूर्ण हुने देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend