काठमाडौं । देशको आर्थिक गतिविधि सुस्ताउँदै गएको सन्दर्भमा निजी क्षेत्रको भूमिका झनै महत्वपूर्ण बन्दै गएको छ। यही अवस्थामा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोवावु श्रेष्ठले सरकारले निजी क्षेत्रप्रति सकारात्मक र विश्वासिलो वातावरण निर्माण गर्न नसकेसम्म लगानी वृद्धि सम्भव नहुने स्पष्ट पारेका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार, कुनै पनि देशको आर्थिक विकासको प्रमुख आधार निजी क्षेत्रको सक्रियता र लगानी हो। तर, लगानीकर्ताले आफ्नो पूँजी सुरक्षित छैन भन्ने महसुस गरेसम्म उनीहरू नयाँ लगानी गर्न तयार नहुने उनको भनाइ छ। “निजी क्षेत्रलाई ढुक्क हुने वातावरण चाहिन्छ। लगानीको सुरक्षा, नीतिगत स्थायित्व र पारदर्शी प्रशासन बिना आर्थिक वृद्धि सम्भव हुँदैन,” उनले भने।
उनले राज्यबाट निजी क्षेत्रलाई हतोत्साहित गर्ने खालका नीतिगत निर्णयहरू बारम्बार आउने गरेकोमा चिन्ता व्यक्त गरे। कहिले कर नीतिमा अस्थिरता, कहिले प्रशासनिक झन्झट, त कहिले अनावश्यक हस्तक्षेपका कारण व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको उनको अनुभव छ। “सरकारले निजी क्षेत्रलाई साझेदारको रूपमा हेर्नुपर्छ, शंकाको दृष्टिले होइन,” उनले जोड दिए।
श्रेष्ठले सुसासनको अभाव नै आर्थिक विकासको सबैभन्दा ठूलो अवरोध बनेको बताए। भ्रष्टाचार, ढिलासुस्ती र अपारदर्शिता जस्ता समस्याले लगानीकर्तामा निराशा बढाएको भन्दै उनले राज्यले यस्ता विकृतिहरू अन्त्य गर्न कठोर कदम चाल्नुपर्ने बताए। “देशमा सुसासन कायम नगरी विकासको कुरा गर्नु केवल नारामात्र हुन्छ,” उनले टिप्पणी गरे।
युवाहरूको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले देशभित्रै रोजगारी सिर्जना गर्नु आजको सबैभन्दा ठूलो चुनौती भएको बताए। उनका अनुसार, उद्योग व्यवसाय विस्तार भए मात्र रोजगारीका अवसर बढ्नेछन् र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्छ। “यदि हामीले युवालाई यहीँ रोजगारी दिन सकेनौं भने देशको भविष्य कमजोर बन्छ,” उनले भने।
यसैबीच, वर्तमान सरकारप्रति संकेत गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो बाचा पत्रअनुसार काम गरेर देखाए मात्र जनतामा विश्वास कायम हुने बताए। चुनावी प्रतिबद्धताहरू व्यवहारमा कार्यान्वयन हुन नसके जनताको विश्वास गुम्ने खतरा रहने उनको धारणा छ।
“बोल्न सजिलो हुन्छ, तर कार्यान्वयन कठिन हुन्छ। अहिले जनताले परिणाम हेर्न चाहेका छन्,” उनले भने, “यदि सरकारले आफ्नो प्रतिबद्धता अनुसार काम गर्न सके भने मात्र निजी क्षेत्र पनि उत्साहित हुन्छ र लगानी बढ्छ।”
श्रेष्ठले सरकार र निजी क्षेत्रबीच सहकार्य, विश्वास र पारस्परिक सम्मानको वातावरण निर्माण गर्न सके मात्र देशको आर्थिक विकासले गति लिने बताए। उनले निजी क्षेत्रलाई राष्ट्रिय विकासको सहयात्रीको रूपमा स्वीकार गर्दै दीर्घकालीन आर्थिक नीति निर्माण गर्न आग्रह गरे।
उनले स्पष्ट सन्देश दिए—निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक समृद्धि सम्भव छैन। त्यसैले अबको आवश्यकता राजनीतिक भाषण होइन, व्यवहारिक सुधार र नतिजामुखी काम हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend