काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवार सुरज बन्जाडेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै समर्थन र मतको अपिल गरेका छन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपालको अध्यक्षसमेत रहेका बन्जाडेले आफू उद्योग वाणिज्य क्षेत्रमा प्रत्यक्ष रूपमा सक्रिय रहँदै आएको उल्लेख गर्दै यसपटक महासंघमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् । उनले वस्तुगततर्फ आदरणीय नरेश लाल श्रेष्ठ को नेतृत्वमा बनेको टिमसँग सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिएका छन् ।
चुनावी अपिलमा बन्जाडेले नेपाली जुत्ता उद्योगको दीगो विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । उनले चोरी पैठारी नियन्त्रण गर्दै स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउने र व्यवसायिक वातावरण सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनका अनुसार उद्योगी–व्यवसायीहरूको साझा आवाजलाई महासंघमा प्रभावकारी रूपमा उठाउँदै नीतिगत सुधार र बजार विस्तारका लागि ठोस पहल गर्ने योजना रहेको छ । “यहाँहरूको अमूल्य मत, साथ र विश्वासले मात्र यी लक्ष्यहरू सम्भव छन्,” भन्दै उनले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
महासंघको आसन्न निर्वाचनमा विभिन्न प्यानल र उम्मेदवारहरूले आ–आफ्नो एजेन्डा सार्वजनिक गरिरहेका बेला बन्जाडेको यो अपिललाई उद्योग क्षेत्रका मुद्दालाई केन्द्रमा राखेर गरिएको चुनावी प्रचारका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend