सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिने

आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिने

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलको भनाई छ ।

खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर सन्चालन गर्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । उपचारका लागि भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, मेडिकल कलेज नेपालगन्ज, भिजन आँखा अस्पतालमा उपचारका लागि प्रवन्ध मिलाइएको छ । घाइते खेलाडीका लागि अस्पतालका आपतकालीन कक्षमा दुईदेखि चार वटा शैया रिजर्ब राखिने संयोजक पौडेलले बताए ।

गम्भीर चोटपटक लागेका खेलाडीका लागि नेपालगन्जमा उपचार सम्भव नभएको खण्ड्मा काठमाडौसम्म लगेर पनि थप उपचारको व्यवस्था मिलाएको छ । आठौं राष्ट्रिय खेलकुदमा ५ हजार २ सय ११ जना खेलाडी, ६ सय ४० टिम प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक गरी ६ हजार ३ सय १२ जना सहित विभिन्न उपसमितिका पदाधिकारी सहभागी छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि गठित प्रचार प्रसार उपसमितिले शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला आयोजना ग¥यो ।खेलकुद प्रतियोगितालाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको थियो ।

कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुर एफएमका पवन आचार्यले सहजीकरण गरेका थिए । प्रचार प्रसार उप समितिका संयोजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राखेका थिए । कार्यशालामा उपस्थित पत्रकारहरुले आठौलाई नेपालगन्ज बाट कलम चलाउन अवसरका रुपमा लिएको प्रतिक्रिया दिए । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत खजुरामा शुक्रबार हुने बक्सिङ खेललगायतका अन्य ४ खेल हुने भएकाले खजुरामा विहान बृहत सरसफाई गरिएको छ । बक्सिङ हुने ज्ञानोदय माविबाट सरसफाई शुरु गरेर खजुरा बजार भरी बृहत सरसफाई गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतम, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी स्थानीयलगायतको सहभागिता रहेको थियो । सरसफाईलाई समापन गर्दै खेलकुद मन्त्रालयका सचिव देवकोटाले खजुराबासीले खेलप्रति देखाएको चासोको प्रशंसा गरे ।

खजुरामा हुने खेल स्थलको अवलोकन समेत गरेका सचिव देवकोटाले खजुरामा आठौं खेलको तयारी राम्रो रहेको बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुराबासी एकताका साथ आठौंको मिसनमा लागेको बताए । उनले चुस्त व्यवस्थापनका लागि गाउँपालिकाले सहकार्य गरेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend