सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

जग्गाको मुआब्जा माग गरेपछि लगनखेलको सडक विस्तार रोकियो

जग्गाको मुआब्जा माग गरेपछि लगनखेलको सडक विस्तार रोकियो

काठमाडौं । ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको हो ।

अदालतको अर्को आदेश नआउँदासम्म काम ठप्प नै भइरहने आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।  उपत्यकामा विस्तारका क्रममा रहेका अन्यत्रका सडकमा जस्तै उक्त सडकमा स्थानीयवासीले घर र जग्गा दुवैको क्षतिपूर्ति माग गर्दै आएको आयोजनाले जनाएको छ । पटकपटक अनुरोध गर्दासमेत सम्बन्धित निकायले भएका संरचना हटाउन चासो नदिएको इञ्जिनीयर श्रेष्ठले बताए ।

विद्युतको पोललगायतका संरचना हटाउन नसकिएको उनको भनाई छ । त्यस्तै, स्थानीयवासीले लगनखेलस्थित वटुकभैरव मन्दिरको पर्खाल भत्काउन मानेका छैनन् । उक्त सडकको निर्माण विसं २०७३ जेठमा शुरु भएको थियो ।

पहिलोपटकको ठेक्का सम्झौताअनुसार विसं २०७४ असोजमा म्याद सकिएपछि आयोजनाले एक वर्ष थपेको थियो । अहिले थपिएको अवधिमा काम अघि नबढेको उनको भनाई छ । रासस

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend