१५ वैशाख , काठमाडौं । लगानी बोर्डको ६१औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने संगठन संरचनाको खाका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार ( १४ वैशाख ) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले विभिन्न निर्देशनालयसहितको संगठन संरचना खाका पारित गरेको हो ।
बोर्डको पाँच वर्षे रणनीतिअनुसार ४२ परियोजनाको सम्झौता गर्ने, अधिकतम १४ परियोजनाको निर्माण कार्य अघि बढाउने, ११ परियोजनालाई सञ्चालनमा ल्याउने र ९२ वटा निजी लगानी परियोजनाको स्वीकृति दिने लक्ष्य लिएको छ । यस रणनीतिक कार्यान्वयनले नेपालको पूर्वाधार विकास र निजी क्षेत्रबाट लगानी प्रवाह बढाउने अपेक्षा गरिएको छ ।
बैठकमा बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।
त्यससँगै , बैठकले आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने र निजी तथा वैदेशिक लगानी भित्र्याउन बोर्डको संस्थागत क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, रणनीति कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौतीहरूलाई व्यवस्थित गर्न पूर्वतयारी गर्नुपर्ने सुझावसमेत बैठकमा प्रस्तुत गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend