बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण

 

काठमाडौँ । राजनीतिक व्यक्तित्व, समाजसेवी तथा साहित्यकार गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण गरिएको छ । अभिनव साहित्य समाज बौद्ध, जोरपाटीमा आज बुधबार आयोजित एक विशेष समारोहकाबीच सो कृतिको लोकार्पण गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, कृतिका समीक्षक प्रा.डा. हेमनाथ पौडेल, समीक्षक सीता ओझा, साहित्यकारहरु मातृका पोखरेल, डा. पुष्करराज भट्ट, बाजुराम पौडेल, कार्यक्रमका सभाध्यक्ष तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरे ।

 

बरालले आफ्ना वैयक्तिक अनुभवहरुलाई कत्ति पनि नलुकाई कवितात्मक रुप दिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले बताए ।

 

समीक्षक प्रा.डा. हेमनाथ पौडेलले राजनीतिक, साहित्यिक, सामाजिक र पारिवारिक रुपमा पनि बराल सुपरिचित व्यक्तित्व रहेको बताए । राष्ट्रसेवक कर्मचारी हुँदै बरालले हाल सामाजिक र राजनीतिक व्यक्त्विको भूमिका निर्वाह गरिरहेको उनले बताए । बरालको साहित्यिक र राजनीतिक व्यक्तित्व भने अगाडि देख्न सकिने उनको भनाइ छ । २०३८ सालमै कविता लेखेर साहित्य यात्रामा प्रवेश गरेका बरालको राजनीतिक व्यक्तित्व हावी हुँदा साहित्यिक व्यक्तित्व ओझेलमा परेको पनि उनको भनाइ छ । बरालका कवितासहित निबन्ध र कथा विधामा कलम अझ सशक्त चलेको उनले बताए ।

 

अर्का समीक्षक सीता ओझाले बरालका कवितामा तीन पाटा रहेको बताइन् । पारिवारिक सम्बन्ध, समाजमा देखिएको अराजकता र राष्ट्रिय एकता, विकास र परिवर्तनका कविता यो कृतिमा समावेश भएको उनको भनाइ छ ।

 

कार्यक्रमका सञ्चालक परशुराम परासरसहित शारदा खनाल, गंगाप्रसाद भेटुवाल लगायतले बरालको कृति ‘समयका स्वर’ भित्रका कविता वाचन गरेर पनि सुनाए ।

 

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष गोविन्द घिमिरेले धेरै सर्जकहरु कविता नलेखेर र कम लेखेर पछिपरिरहेको भन्दै निरन्तरता दिन आग्रह गरे । कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले कृति प्रकाशनको जिम्मेवारी दिएकोमा कृतिकारप्रति विशेष आभार प्रकट गरे ।

 

बरालको यो दोस्रो कृति हो । यसअघि उनको सम्झनाका कोसेलीहरु (निबन्धसङ्ग्रह, २०६८) प्रकाशित भइसकेको छ । यो कृतिलाई अभिनव साहित्य समाजले प्रकाशन गरेको हो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend