२६ चैत्र,काठमाडौँ। नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले लागत शुल्क निर्धारण नहुँदा व्यवसायीका लागि बनाइएको आचारसंहिता नै लागू गर्न नसकिएको बताउनु भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो । वैदेशिक रोजगारमा जाने श्रमिकलाई भर्ना गरेबापत लिने सेवा शुल्क निर्धारण नहुँदा व्यवसायीको आचारसंहिता कार्यान्वयन नभएको उहाँको भनाई छ।
‘सरकारको १० हजार रुपैयाँमा श्रमिक पठाउनुपर्छ भन्ने नीति छ । यो व्यवहारिक छैन । रोजगारदाताले नै सबै शुल्क बेहोरेको खण्डमा मात्रै सम्भव छ । यस्तो रोजगारदाता ५ प्रतिशत पनि छैन,’ भण्डारीले भन्नु भयो।
व्यवहारिक लागत र सेवा शुल्क तोकिएमा आचारसंहिता पूर्ण रूपमा कार्यान्वयनमा आउने अध्यक्ष भण्डारीको तर्क रहेको थियो। म्यानपावर व्यवसायीले एक महिना तलबबराबरको सेवा शुल्क निर्धारण हुनुपर्ने माग गरिरहेको उहाँले बताउनुभयो।
आफ्नो नेतृत्वको संघले ३४ सय वटा उजुरीलाई मेलमिलाप गराएको अध्यक्ष भण्डारीले बताउनु भयाे।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीले श्रमिकको बिषयमा आफूहरू सचेत रहेको बताउनु भयाे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend