२५ चैत, काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७९/०८० सम्मका साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष तिलक बहादुर रानाभाटको सभापतित्वमा दशौं, एघारौं, बाह्रौं, तेह्रौं , चौधौं , पन्ध्रौं, सोर्हौं , सत्रौं, अठारौं, उन्नाईसौं, बीसौं, एक्काईसौं र बाईसौं गरी संस्थाले १३ वटा आर्थिक बर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात साधारण सभा हुन सकेको थिएन । संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गर्न सफल भएको हो ।
सभाले विगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रन्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालक राजेश्वर श्रेष्ठ रहेका छन् ।
सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारेका थिए। उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend