८ बैशाख ,काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पूरा भएको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले जानकारी दिएका छन् । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करण एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिइएको हो ।
यो एक्स्पो वैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले आर्थिक गतिविधिहरु सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता रहेको बताए । उनले कुनै आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्याली स्काई वाक टावर कमलादीबाट सुरु भइ विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।
‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।
नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीका कार्यकारी निर्देशक बिजय सागर प्रधानले बताए ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता , अवलोकन र अन्तर्कृया गर्न सकिने आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend