किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। चैत २८ गते मंगलवार संस्थाका अध्यक्ष लोकराज शर्माको अध्यक्षता र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री के.सि.को प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभाले समिक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ। त्यस्तै, आ.व.२०७९/ ०८० को लेखापरिक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षक नियुक्ति गर्ने काम सभाले गरेको छ।

संस्थाले यस वर्ष हालको चुक्ता पुँजी रु. ४७,१३,७०,५३०/- को ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागी ०.३६८४२ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।
कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेयर निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब ६४ करोड २३ लाख पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।
स्थापना कालमा एनआरएन लघुवित्तको नाममा कारोबार संचालन गरेको संस्था साविक रामारोशन,,क्रियटिभ ,किसान,
दिव्य लघुवित्तहरुसङ्ग मर्जर सम्पन्न गरेपश्चात किसान लघुवित्त नाममा संचालन हुँदै आएको छ। हाल संस्थाले ७ प्रदेश अन्तर्गतका ४८ जिल्लामा १३७ वटा शाखा कार्यालय मार्फत १ लाख १९ हजार सदस्यहरूलाई सेवा प्रदान गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend