काठमाडौं, २४ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताउनुभएको छ । उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तह, शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग मंगलबार भएको अन्तरक्रियामा मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘तत्काल नयाँ शिक्षक ल्याउन सकिने अवस्था हुँदैन । भइरहेका शिक्षकलाई प्रोत्साहित गरी अघि बढ्दै नयाँ शिक्षकलाई भित्र्याउने हो ।’
सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उहाँले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको बताउँदै सामुदायिक विद्यालय सुर्धान सामूहिक संकल्पको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुधार्नेतिर रहेको छ । शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरू पनि प्रयासरत् रहनुपर्छ ।’ भूकम्प प्राधिकरण एवम् राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको बताउँदै उहाँले शिक्षालाई गुणस्तरीय बनाउनु अहिलेको प्रमुख मुद्दा रहेको बताउनुभयो ।
उहाँले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउन काम भइरहेको जानकारी दिँदै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम तथा गोष्ठीको आयोजना गर्ने जानकारी पनि दिनुभयो । अन्तरक्रियामा सहभागीले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्स कार्यक्रम विद्यार्थी संख्याको आधारमा हुनुपर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई ‘तरबार तेस्र्याएको’ लगायतका विषय उठाएका थिए । न्युज अफ नेपालबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend