काठमाडौं । अब बन्ने सरकारको नेतृत्व गर्ने दलले ट्रेड युनियन खारेज गर्ने विषयमा पत्राचार गरेको भन्दै पेसागत महासंघ नेपालले त्यसप्रति पूर्ण असहमति जनाएको छ। महासंघले उक्त प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै यसबारे सबै सरोकारवालालाई सुसूचित र सजग रहन आग्रह गरेको जनाएको छ।
पेसागत महासंघ नेपालका अध्यक्ष पून्य प्रसाद ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रेड युनियन खारेज गर्ने प्रयासप्रति महासंघको स्पष्ट विरोध रहेको बताएका छन्। उनले यस विषयमा महासंघले सम्बन्धित सबै पक्षलाई सुसूचित गर्दै सचेत रहन आह्वान गरिसकेको उल्लेख गरेका छन्।
ढकालका अनुसार ट्रेड युनियन श्रमिक तथा कर्मचारीको अधिकार, हित र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने महासंघको धारणा रहेको छ। उनले यस विषयमा महासंघको अभियान निरन्तर जारी रहने पनि स्पष्ट पारेका छन्।
अध्यक्ष ढकालले ट्रेड युनियनको अस्तित्व र अधिकारको संरक्षणका लागि सबै सदस्य तथा सरोकारवालाको साथ, सुझाव र सल्लाह आवश्यक रहेको बताउँदै सबैलाई सक्रिय सहयोग गर्न आग्रह गरेका छन्। उनले यस विषयमा सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै सबैलाई सचेत र संगठित हुन अपिल गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend