मुलुककै प्रमुख प्रशासनिक मूख्यालय हो, सिंहदरवार । यहाँ सेना, प्रहरी र गुप्तचरमात्रै होइन, सीसीटीभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ ।
तर, यही स्थानबाट पटकरपटक चोरीका घटना दोहोरिएका छन् । गत १ चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाटै मोटरसाइकल चोरी भयो । पार्किङ गरी राखेको अवस्थामा बा १ ब ९९१३ नम्बरको सरकारी मोटरसाइकल मन्त्रालयबाटै चोरी भयो । त्यसको एक सातापछि प्रहरी, चोरी गर्ने व्यक्ति पक्राउ गर्न सफल भयो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी अपील बोहोराका अनुसार मन्त्रालयका कार्यालय सहयोगी रमेश सुनारले मोटरसाइकल चोरी गरी आफ्नै भाइ दिनेश सुनारलाई दिएका थिए । दिनेशले चितवन पु¥याएर मोटरसाइकल चलाउन थालेका थिए । इलाका प्रहरी कार्यालय टाँडी, चितवनको समन्वयमा अन्ततः उनी पक्राउ परे ।
मोटरसाइकल चोरीको यो घटना त पछिल्लो उदाहारण मात्र हो । पछिल्लो दुई वर्षको अवधिमा मात्र सिंहदरवारभित्र ६ वटा चोरीका घटना भएको उजुरी प्रहरीमा छ । २६ जेठ २०७३ मा प्रधानमन्त्री कार्यालय नजिकै प्रधानमन्त्रीले रोपेको बोधिचित्तको विरुवा गायब भएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रकृतिका विरुवा रोपेर सिंहदरबारलाई हरियाली बनाउने अभियान थाल्दै बोधिचित्तका दुई वटा विरुवा रोपेका थिए । तर, दुई हप्ताकोबीचमा त्यो विरुवा नै गायव भयो ।
त्यसको दुई महिनापछि १२ साउन २०७३ मा हालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आइफोन, ल्यापटप र एक लाख रुपैया“ नगदसमेत चोरी भयो । मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षबाटै ती वस्तु र नगद चोरी भएका थिए ।
त्यसलगत्तै १२ पुस २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ल्यापटप हरायो । मन्त्रालयकी शाखा अधिकृत शुष्मा श्रेष्ठले ल्यापटप गुमाएकी थिइन् ।
चोरीको श्रृंखला यतिमामात्रै सीमित रहेन त्यसको करिब एक वर्षपछि गत पुसमामात्रै सिंहदरवारमा चोरीका दुई वटा घट्ना भए । गत १ पुसमा सिंहदरवारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरबाट गाडीको चारवटै टायर चोरी भएको थियो । मन्त्रालयका झोलुङ्गे पुल शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको थियो । यो घट्नाले निकै चर्चा पायो ।
पुस अन्तिम साता नै सिंहदरबार पुनर्निर्माण कार्यालयमा रहेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भए । सिंहदरवारभित्र चोरीको पछिल्लो घटना गत १ चैतमा घट्यो । उक्त दिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पार्किङ स्थानबाट सरकारी मोटरसाइकल नै हरायो ।
कडा सुरक्षा उपस्थिति रहेको सिंहदरवारमा पटक –पटक दोहोरिएका चोरीका घटनाले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ ।
चैत १ गते भएको मोटरसाइकल चोरीमा मन्त्रालयकै कार्यालय सहयोगीको संलग्नता भेटियो । त्यस्तै, गत पुस १ गते भएको गाडीको टायर चोरीमा पनि सरकारी गाडी चालककै संलग्नता भेटियो । यी उदाहारणलाई हेर्दा सिंहदरवारभित्रकै कर्मचारीहरू चोरीमा संलग्न हुने गरेको पुष्टि हुन्छ ।
महानगरीय प्रहरी बृत्त सिंहदरवारका प्रमुख डिएसपी अपिल बोहोरा भन्छन् – ‘कडा सुरक्षा व्यवस्था र प्रवेश पास पनि सहजै उपलब्ध नहुने भएकाले सामान्य मानिस सिंहदरवार छिर्नै कठिन छ, परिवेश पनि सहज नहुने भएकाले उनीहरूले चोरी गर्ने सम्भावनै न्यून हुन्छ ।’ उनका अनुसार कतिपय घटनामा चोरीका खबर बाहिरीए पनि प्रहरीकोमा उजुरी नआउँदा चोरीमा संलग्नहरूले सहजै उन्मुक्ति पाइरहेका छन् । लोकान्तर डटकमबाट साभार
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend