ललितपुर । नेपाल मध्यस्थता परिषद ( नेप्का ) को ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। परिषदका सभापति डा. राजेन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा नेप्का सभाकक्ष , ललितपुरमा यही चैत ९ गते शनिबार सम्पन्न सभामा मध्यस्थता परिषद कार्यसमितिका पूर्व एवं वर्तमान पदाधिकारी तथा अतिथिहरुको उपस्तिथि रहेको थियो।
सभामा परिषदका सभापति डा. राजेन्द्रप्रसाद अधिकारीले मध्यस्थता सम्बन्धित विविध विषयहरुलाई नियमितरूपमा छलफलमा ल्याई मध्यस्थताको आवश्यकता र महत्वको बोध गराउदै यसको गरिमा अभिवृद्धि गर्न परिषदले महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारे। वर्तमान परिवेशमा बढ्दो आर्थिक क्रियाकलाप एवं लगानीको कारण मध्यस्थताको क्षेत्रमा कामको संभावना बढ्नुका साथै आयोजनाको आकार र त्यसमा उपयोग हुने प्रविधिको कारण मध्यस्थताको विषयवस्तु बढी जटिल हुँदै गएको तर्फ सचेत हुनुपर्ने उनले बताए ।
सभापति डा. अधिकारीले मध्यस्थता प्रक्रियामा विषयवस्तु बुझेर सहि मार्ग पहिल्याउन सक्ने सीप भएको र मध्यस्थ समक्ष विषयवस्तुलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्न सक्ने क्षमता भएको सहयोगी ( काउन्सेल ) को उत्पादनमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा परिषदका महासचिव बाबुराम दाहालले विगत ३३ वर्षदेखि नेपालमा मध्यस्थताको काम गर्ने एक मात्र संस्था भएकाले परिषदलाई संस्थागत मध्यस्थता गर्ने संस्थाको रूपमा स्वदेश तथा विदेशमा समेत परिचित गराउने उद्देश्य रहेको बताए ।
साधारणसभाले परिषदको वार्षिक प्रतिवेदन , महासचिवको प्रतिवेदन , कोषाध्यक्षको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथी छलफल र सुझावसहित पारित गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend