१२ चैत , काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको बहुप्रतीक्षित विद्युतीय गाडी क्रेटा इभीको नेपालमा बिक्री सुरू भएको छ। सोमबार ( ११ चैत ) विशेष कार्यक्रम गरेर नेपालमा यो हुन्डाई गाडीलाई सार्वजनिक गरिएको हो। कोरियन ब्राण्डको यो गाडी भारतमा आयोजित मोबिलिटी ग्लोबल एक्स्पो–२०२५ मा पहिलो पटक सार्वजनिक गरिएको थियो।
कार्यक्रममा लक्ष्मी ग्रुपका संस्थापक अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने- ‘ग्राहकको चाहना र आवश्यकतालाई महसुस गर्दै हुन्डाइ गाडी उत्पादन गर्दै आएको छ, यो विश्व बजारमा निकै प्रख्यात छ, हामीले नयाँ गाडी विश्वबजारमा आएसँगै नेपाली बजारमा ल्याइएको छौं र नेपाली प्रयोगकर्ताले निकै रुचाउनु भएको छ।’

क्रेटा इभी दुई फरक मोटर क्षमतामा उपलब्ध छ। ९९ किलोवाट क्षमताको मोटर भएको मोडेलमा ४२ किलोवाट क्षमताको ब्याट्री राखिएको छ, जसले एकपटक पूरा चार्ज हुँदा ३९० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। त्यस्तै , १२६ किलोवाट क्षमताको मोटर भएको मोडेलमा ५१.४ किलोवाट क्षमताको ब्याट्री राखिएको छ, जसले ४७३ किलोमिटरसम्म गुडाउन सकिने जनाइएको छ।
पेट्रोल र डिजेल क्रेटासँग मिल्दोजुल्दो डिजाइन भए पनि विद्युतीय मोडेलमा केही परिवर्तन गरिएको उल्लेख छ। गाडीमा कालो फ्रन्ट ग्रिल, नयाँ बम्पर डिजाइन, हावालाई नियन्त्रण गर्ने विशेष प्रणाली र चार्जिङ पोर्ट राख्न छुट्टै ठाउँ बनाइएको छ।
गाडीभित्र १०.२५ इन्चको दुईवटा स्क्रिन रहेको छ, ठूलो छत खोल्न मिल्ने सनरूफ, गर्मी छल्ने सिट, चारैतिरको दृश्य देख्ने क्यामेरा र गाडीको ब्याट्रीबाट अन्य उपकरण चार्ज गर्न सकिने सुविधा पनि राखिएको छ। अगाडि राखिएको सुरक्षा प्रविधिमा लेन परिवर्तन गर्दा सहायता गर्ने, अगाडि रहेको गाडी वा अवरोध नजिक आउँदा सचेत गराउने, साइडमा गाडी आउँदा संकेत दिने र यात्राको गति आफैं मिलाउने प्रविधि समावेश छन्।
सुरक्षाका हिसाबले यो गाडी भरपर्दो मानिएको छ। छवटा हावा भरिने सुरक्षात्मक तकिया, आकस्मिक ब्रेक लगाउँदा नियन्त्रण गर्न मद्दत गर्ने प्रविधि, ओरालो सडकमा ब्रेकिङलाई सन्तुलित बनाउने प्रणाली र पछाडिको दृश्य स्पष्ट देखाउने क्यामेरा राखिएको छ।
चार्जिङको हिसाबले, गाडीलाई द्रुत चार्ज गर्ने प्रणाली प्रयोग गर्दा १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने जनाइएको छ। घरमा प्रयोग गर्न मिल्ने ११ किलोवाट क्षमताको चार्जरले गाडीलाई चार घण्टामा पूरा चार्ज गर्न सकिने छ।
यो गाडी ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। गाडीमा गति नियन्त्रण गर्ने प्रविधि, पछाडिको सिसा पुछ्ने प्रणाली, यात्रा गर्न मिल्ने विभिन्न मोडहरू, हावाको गुणस्तर मापन गर्ने यन्त्र जस्ता सुविधाहरू छन्।
नेपालमा हुन्डाईले क्रेटा इभी चार फरक भेरियन्टमा उपलब्ध गराएको छ। सबैभन्दा सस्तो मोडेल क्रेटा ईभी एक्जिक्युटिभको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ। त्यस्तै , क्रेटा इभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार, क्रेटा इभी स्मार्ट ओ को ५६ लाख ९६ हजार तोकिएको छ।
सबैभन्दा महँगो मोडेल क्रेटा इभी प्रिमियम प्लसको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले यो गाडी नेपाली बजारमा राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ। बिक्रेता कम्पनीले यसअघि पेट्रोल इञ्जिन भएको क्रेटा गाडी १० हजारभन्दा बढी बिक्री गरिसकेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend