काठमाडौं– नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंशराज वाग्लेले व्यवसायीहरुको एकता हुन नसकेको कारण पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्र नै धरापमा पर्न गएको बताएका छन् । फोरमद्धारा आयोजना गरिएको व्यवसायी भेलामा उनले व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघ मुकदर्शक हुन पुगेका बताए ।
वाग्लले मलेसिया रोजगारी सुचारु गर्नको लागि व्यवसायीहरु एकजुट भएर आन्दोलनमा आउनुपर्ने र त्यसको नेतृत्व आफूले गर्न तयार भएको बताए । व्यवसायी कमल तामाङले संघकै पत्राचारको आधारमा मलेसिया रोजगारी बन्द हुन पुगेको आरोप लगाए । उनले पनि व्यवसायीको हक हितको लागि आन्दोलनको विकल्प नभएको बताए ।
फोरमले जापान सरकारको इच्छा विपरित नेपाल सरकारले सरकारी संयन्त्रबाट कामदार पठाउने गरी सम्झौता गरेको आरोप लगाएको छ । फोरमका पदाधिकारीहरुले जापान सरकारको इच्छा विपरित नेपाल सरकारको जोडबलमा सरकारी संयन्त्रबाट कामदार पठाउने समझदारी गरिएको र उक्त समझदारी असफल हुने बताएका छन् ।
सरकारले सोमबार जापान सरकारस“ग कामदार आपुर्तिबारे ‘सहयोग समझदारी’ गरेको थियो । भेलामा व्यवसायी मदन महत र सुजित श्रेष्ठले सरकारले जापान सरकारको इच्छा विपरित समझदारी गर्न जोडबल गरेका कारण जापानका लागि नेपाली कामदारहरुको सम्भावित रोजगारी गुम्ने स्थितीको सिर्जना भएको बताए ।
महतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले व्यवसायीहरुले ठगी गर्न सक्ने कारणले सरकारी संयन्त्रबाट मात्रै जापान पठाउने समझदारी गरेको बताउने गरेको भन्दै त्यस्तो अभिव्यक्तिको आफूहरुले निन्दा गर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend