काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गरेको छन्। वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको लागि रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो। उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बुलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरे। र, सँगै घण्टी बजाए।
शनिबार (१७ चैत) उनको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नको लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उनले आफ्नो दल त्याग नगरे पनि देशको विकासका लागि सकारात्मक परिवर्तन गर्ने अभियानमा सहयोग गर्न घण्टीमा मत हाल्न आग्रह गरेका छन् । उनले अहिलेसम्म व्यक्तिले जिते पनि इलामले हारिरहेको भन्दै अब नेतृत्व परिवर्तन गर्न आग्रह गरे ।
गृहमन्त्री रविले भने, ‘अहिलेसम्म व्यक्ति र पार्टीले जित्यो, इलामले सधैं हारिरह्यो । यदि इलामले जित्थ्यो भने इलामवासीले यति धेरै समस्या भोग्नुपर्दैनथ्यो । अब इलामको समस्याको समाधान गर्नुपर्ने समय आएको छ । तर त्यो जिम्मेवारी तपाईं हाम्रो काँधमा आएको छ । त्यसका लागि पहिला नेतृत्व परिवर्तन गर्न आवश्यक छ । परिस्थितिले मिलन लिम्बूमार्फत् पूर्वमा रास्वपाले ढोका खोल्ने मौका पाएको छ ।’
उपप्रधान एवं गृहमन्त्री रहेका रास्वपा सभापति रविले भने, ‘पार्टीहरुले नेता र उम्मेदवारहरु त दिए । तर, उनीहरुले अवसरलाई व्यक्तिगत लाभलाई प्रयोग गरेर मुलुकलाई हरिकंगाल बनाए । जसले मुलुकको यो हालत बनाए, उनैलाई भोट त म दिन्नँ भन्नुुस् । म स्पष्ट आग्रह गर्छु तपाईंहरुलाई पार्टी त्याग्न पर्दैन, अब घण्टी चुनाव चिन्ह आएको छ, अब सोच्नु पर्दैन ।
रास्वपा नेताहरु र उम्मेदवार लिम्बुले रास्वपा सबै नेपालीको पार्टी भएकोले घण्टीमा मतदान गरेर विकासमा सहयोग गर्न आग्रह गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend