८ चैत, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष जर्ज बार्कलेले बुधबार नेपाली क्रिकेटको उदियमान अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् । उनले नेपाली क्रिकेटको भविस्य राम्रो रहेको पनि उल्लेख गरेका छन् । त्यसका लागि नेपालले क्रिकेटको भौतिक पूर्वाधारको विकासमा सुधार गर्नु आवश्यक देखिएको उनले बताए । भ्रमणमा उनले कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीको क्रिकेट मैदान अवलोकन गरेका थिए ।
आईसिसी अध्यक्ष बार्कलेले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले प्रधानमन्त्री , खेलकुद मन्त्री , राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई भेटेँ । नेपाली क्रिकेटको विकासको लागि उहाँहरु सकारात्मक रहेको पाँए ।’ उनले प्रगति भइरहेको र भविस्यमा पनि नेपाली क्रिकेटको प्रगती हुनेमा विश्वास व्यक्त गरे ।
उनले आफ्नो नेपाल भ्रमणले नेपाल क्रिकेट संघ र आईसीसी दुवैलाई फाइदा पुग्ने पनि बताएका छन् । उनले क्रिकेटको विकाशका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको पनि बताए ।
‘आईसीसीका प्रतियोगिता र दुई देशीय शृंखलाहरु आयोजन गर्न स्तरीय पूर्वाधारहरु चाहिन्छ’, उनले भने । बार्कलेले अभ्यास मैदान, लाइट र हाइपर्फमेन्स एरियालगायत न्युनतम आवश्यकताहरु भएको औँल्याए ।
आईसीसी अध्यक्षले नेपालका मैदानहरुबाट आफु खुसी भएको र तर ठुला टिम र प्रतियोगिताहरु आयोजना गर्न त्यसमा अझै कामहरु गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने भन्दै आईसीसीलाई पनि सहकार्यका लागि आग्रह गरेको बार्कलेले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend