६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको बताएका छन् ।
नेपाली कांग्रेसका सांसदहरुले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले हालसम्म अनुसन्धानले गृहमन्त्री रवि सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै नजोडिएको बताए।
प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारीका पीडितहरुले सुरुमा दिएको जाहेरीमा कसैको नाम किटान नगरिएको जनाए । यसमा अनुसन्धान गरेर १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ, जसमा ४ जना पक्राउ परेका छन् भने अरुको खोजी भइरहेको छ ।त्यसको ६ महिनापछि मात्र रविसहित १६ व्यक्ति तथा संस्थाविरुद्ध पुरक जाहेरी परेको भएपनि रवि सहकारी हिनामिनामा संलग्न भएको आधार प्रमाण पेश नभएको उनले दाबी गरे । एक पटक अनुसन्धान सकेर अदालतमा दायर भएको मुद्दामा आधार प्रमाण विना परेको जाहेरी पुनः दर्ता गर्न आश्यक नहुने भएकाले त्यो जाहेरी दर्ता नै नभएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले अनुसन्धानबाट केही कैफियत देखिएमा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने दाबी गरे । तर प्रहरीले नै अनुसन्धान गर्नुपर्ने नदेखिएको ब्रिफिङ गरेको भन्दै उनले रविको नाममा प्रवाह भएको ऋण फर्छयौट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ प्रष्ट शब्दमा भएको बताए ।
उजुरी पर्नासाथ राजीनामा माग्नु उचित नहुने बताउँदै प्रधानमन्त्री दाहालले यो विषयलाई राजनीतिकरण नगर्न काङ्ग्रेसलाई अनुरोध समेत गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend