५ फागुन , काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ। उनलाई आज सोमबार बिहान कपिलवस्तु क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ। महरा यसअघि पनि यौन स्क्यान्डल , चिनियाँ व्यापारीसङ्ग ५० करोड मागेको जस्ता विभिन्न विवादमा परेका थिए ।
यती एयरलाइन्सको जहाजबाट सोमबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइएको हो। उनलाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाजिम्पाटमा राखिएको छ।
भेपमार्फत् गरिएको ९ किलो सुन तस्करी र ब्रेक शुमा राखेर ६० किलो सुन तस्करी गरेको सम्बन्धी बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अहिले प्रहरी प्रधान कार्यालय हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ।
विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।
माओवादी नेता महराको सुन तस्करीमा संलग्न व्यक्तिसँग बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend