बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जनताको म्याण्डेटको शक्तिमा सुशासनका लागि काम गर्छु: गृहमन्त्री रवि

जनताको म्याण्डेटको शक्तिमा सुशासनका लागि काम गर्छु: गृहमन्त्री रवि

३ चैत , काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा सुशासनको पक्षमा काम गरिरहने  र त्यसो गर्दा कसैले राजीनामा माग्नु उचित नहुने   बताएका छन् । उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आफू गृह मन्त्रालयमा आउनेबित्तिकै  शुरु गरिएको पनि बताए।

गृहमन्त्री रविले कांग्रेसले आफूमाथि सहकारीको विषयमा लगाएको निराधार आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको पनि  बताए।

शुक्रबार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै कांग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताएका हुन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविले सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठेका प्रश्नसहित कांग्रेसलाई ९ मिनेट १८ सकेन्ड पढाउने इच्छा रहेको बताए।

शुक्रबार संसद भवन परिसरमा उनले भने, ‘अब मैले संसदमा समय पाएपछि नेपाली कांग्रेसले उठाएको कुरा के रहेछ, त्यसको वास्तविकता के रहेछ, राम्रोसँग बताइदिन्छु। अनुसन्धानमा कुनै प्रभाव पर्न दिन्न। कसैसँग सम्झौता हुँदैन। सुशासनको कुरामा कुनै दबाब र शक्तिसंग  कुनै पनि किसिमको सम्झौता  हुँदैन। मलाई विश्वास छ, कांग्रेसजस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिने छैन। र, के विषय उठाएको छ। त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो? कसले गराएको हो, कहाँ छ, के छ? त्यति कुराचाँहि एकपटक सदनमा मौका पाए भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ नौ मिनेट १८ सेकेन्डमा।’

 

गृहमन्त्री रविले थपे, ‘आयोगले दिएको प्रतिवेदनमा भएका विषयबस्तुमा टेकेर पुनः अनुसन्धान  हुन्छ। जजसलाई उन्मुक्ति दिन खोजिएको छ, उन्मुक्ति दिनेहरुमाथि पनि कारबाही हुन्छ। उन्मुक्ति पाएकाहरुले केही समय रमाए होलान्। कोही रमाउन पाउँदैन। कोही छुट्दैन। कहीँ कसैले प्रभावित पारेको छ भने त्यसलाई निर्ममतापूर्वक घेरिनेछ। म कति दिन गृहमन्त्री हुन्छु भन्ने मलाई थाहा छैन। तर मेरा लागि आजको दिन अन्तिम दिन हो भने पनि म आज आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न प्रतिबद्ध भएर आएको छु।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend