११ चैत ,काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका अध्यक्ष सुरेश शाक्यको सभापतित्व र बागमती प्रदेश सांसद हरीप्रभा खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य , नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य ,काठमाडौं महानगरपालिकाका पुर्वप्रमुख विद्यासुन्दर शाक्य ,राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेम लाल महर्जन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि हरीप्रभा खड्गीले असक्षम राजनैतिक नेतृत्वको कारण युवापुस्ता विदेश पलायन हुन बाध्य भएको अहिलेको कठिन परिस्थितिमा देशमै रोजगारी र अवसर सृजना गर्ने सिपयुक्त शिक्षा दिनुपर्ने बताइन् । सुनचाँदी व्यवसायमा कला ,संस्कृति र रोजगारीको मिश्रण हुने भएकोले यसलाई पाठ्यक्रममा राखेर विकास गर्नमा बागमती प्रदेश सरकारले पहल गर्नुपर्ने उनले बताइन् ।
साधारणसभामा संघका अध्यक्ष सुरेश शाक्यले नेपाल सरकारले १५ वर्षदेखि सुन आयातमा लगाएको कोटा प्रणाली र बैंकहरुले मात्र आयात र विक्री गर्न पाउने नियंन्त्रित बजारबाट व्यवसायीहरुले पिडा ,अपमान ,र तिरस्कारको सामना गर्नुपरेको हुनाले खुला बजार नीति अनुसार निजी क्षेत्रलाई समेत प्रतिस्पर्धा गर्नदिनु आवश्यक रहेकोमा जोड दिए। हाल सरकारले राष्ट्र बैंकमार्फत दैनिक १० किलो सुन आयातको कोटा लागु गर्दै आएको छ।
साधारणसभामा काठमाडौं सुनचाँदी व्यवसायी संघ सदस्यहरुको परिवारबाट २०७८ सालको एसईई परिक्षा उत्तीर्ण तथा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीका साथै संघका उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । त्यसअघि सम्पन्न साधारणसभाको बन्दसत्रमा सुनचाँदी व्यवसाय संचालनसम्बन्धि अभिमुखिकरण पनि दिइएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend