शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सिभिल लघुवित्त वित्तीय संस्थाको नाम अबदेखि हिमालयन लघुवित्त

सिभिल लघुवित्त वित्तीय संस्थाको नाम अबदेखि हिमालयन लघुवित्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभाले संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ। फागुन २९गते सोमबार काठमाडौंमा संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए । सिभिल लघुवित्त हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो।

एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, मिति २०७८ साउन १ गतेदेखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने, हाल कायम रहेको पूँजी संरचनामा संस्थापक शेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा सेयर स्वामित्व अनुरूप प्रतिनिधित्व व्यवस्था गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुमा थप र संशोधन सम्बन्धी विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा समायोजनका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यावसायिक कारोबारको सिलसिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेको छ ।साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

सभाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाइदिएकोमा धन्यवाद ज्ञापन गरे ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend