२६ माघ, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रको आवाज सुन्नुपर्ने कुरा बताउनु भएको छ ।
नेपाल व्यवस्थापन संघको आयोजनामा भइरहेको राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२५ मा शनिबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नीतिगत स्थिरता भएमात्रै सरकारको पूर्वाधार विकास योजनाले गति लिने उहाँको भनाई छ । अध्यक्ष ढकालले सत्ता फेरबदलमा पनि दलहरूबीच पूर्वाधार विकासका लागि साझा प्रतिबद्धताको खाँचो औंल्याउनु भयो ।
‘नियामक निकायले पनि नीतिलाई आत्मसात गरेर लागू गर्न सकिरहेको छैन। राजनीतिक कमिटमेन्ट पनि अस्थिर छ। सत्तामा रहेका बेलामा मात्रै कमिटमेन्ट हुने सत्ताबाट बाहिरिएपछि सबै बिर्सने परिपाटी छ। पूर्वाधार विकासमा सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्छ,’ उहाँले भन्नु भयो , ‘यसलाई कमन एजेन्डा बनाउनु पर्छ। त्यसपछि मात्रै विकास निर्माणले गति लिन्छ।’
नीति र सरकारको प्रतिबद्धताले लगानीलाई सुनिश्चितता दिनुपर्ने उहाँले बताउनु भयो । निजी क्षेत्रलाई पूर्वाधार विकासमा सामेल गर्न सकेमा छोटो समय ठूलो रिजल्ट निकाल्न सकिने उहाँको भनाई छ । निजी क्षेत्रको स्पिरिटमा काम गर्ने वातावरण सरकारले दिएमा देश विकास धेरै छोटो समयमा हुने उहाँले बताउनु भयो । अहिलेको व्यवस्थापनका क्रियाकलापहरू आगामी दिनमा पनि अपनाइरहेमा हामी अझै धेरै पछाडि परिने चिन्ता उहाँले व्यक्त गर्नु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend