२३ माघ, काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले आफ्नो १४औं स्थापना दिवस तथा वार्षिकोत्सब कार्यक्रम अन्तर्क्रिया तथा अन्य विविध कार्यक्रमहरुसहित बुधबार मनाएको छ । एनभिएका अध्यक्ष ई. संजय कुमार महतोको सभापतित्वमा विभिन्न कार्यक्रमसहित भव्यताका साथ ठमेलस्थित होटल यात्रीमा स्थापना दिवस समारोह सम्पन्न भएको हो । मुल्यांकनकर्ताको पेशागत हितमा काम गर्नेगरी संस्थाको स्थापना वि.सं. २०६८ साल माघ २३ गते भएको थियो।
नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदमबहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न एनभिएको वार्षिकोत्सब कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष ई. सुभाषचन्द्र बराल र नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्ट्रार ई. शिवमंगल गिरी विशेष अतिथि रहेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु , सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस एशोसियन नेपाल (सिडेन), प्रोगेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन), स्क्याप, सोना लगायतका इन्जिनियरिङ संस्थाहरु, नेपाल बैंकर संघ, नेपाल डेभलमेन्ट बैंकर एशोसियशन, नेपाल वित्त संघ लगायतका संस्थाहरुलाई र नेपालभर छरिएर रहेका मुल्यांकनकर्ता इन्जिनियरहरु लगायतको उपस्थिति रहेको थियो।

वार्षिकोत्सब समारोहका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदमबहादुर शाहीले मुल्यांकनको काम इन्जिनियरिङ पेशा हो वा होइन भनेर स्पष्ट किटान हुनुपर्ने बताउँदै परिषदले एनभिएलाई सधैं समेटेर काम गरेको उल्लेख गरे। मूल्यांकनकर्ताले आफ्नो काममा स्पष्टता र एकरुपता कायम गर्नुपर्ने उनले सुझाव दिए।
कार्यक्रममा भूमि ,व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले मूल्यांकन पद्धतिमा मानक कार्यविधि सहितको काम हुनुपर्छ भन्नेमा मन्त्रालय रहेको बताए। घर जग्गाको मूल्यांकनमा उनले एनभिएसङ्ग सहकार्य गरेर काम गर्न तयार रहेको उनले जनाए।
समारोहमा संस्थाका अध्यक्ष महतोले मूल्यांकनकर्ताहरुको बीचमा एकता कायम गरेर संस्थालाई बलियो बनाएर मात्रै पेशागत समस्या समाधान गर्न सकिने भएकाले सबैलाई साथ दिन आग्रह गरे । त्यस्तै, महासचिव ई. अशोक सिलवालले एनभिएको बारेमा संक्षिप्त जानकारी राख्दै बैंक , वित्तीय संस्था तथा नियामक निकायको मूल्याकंनकर्ताप्रतिको दृष्टिकोण सन्तुलित तथा न्यायसंगत हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। उनले कर्जा प्रवाहमा हुने कमी कमजोरी लाई पनि मूल्यांकनकर्तासंग प्रत्यक्ष जोडी कारवाही हुने गरेकोमा विरोध जनाए।
त्यस्तै ,वार्षिकोत्सब कार्यक्रममा एनभिएले वरिष्ठ भ्यालुयर्स इन्जिनियर बाबुराम बराललाई विशेष सम्मान प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ई. रविन्द्र अधिकारीले गरेका थिए।
नेपालमा मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल भ्यालुयर्स एसोसिएशनले देशमा मूल्याङ्कनको पेशासँग सम्बन्धित सबै मुद्दाहरूलाई सम्बोधन गर्न सहजकर्ताको भूमिका खेल्दै आएको जनाएको छ । हाल एनभिएमा ९ सय भन्दा बढी संस्थागत सदस्यहरु र ३ हजार भन्दा बढी इन्जिनियरहरु आबद्ध छन् । यसमा घर जग्गा लगायतका सिभिल इन्जिनियरिङ संरचना, सवारी साधन लगायत सबै मेसिनरी उपकरणहरु, कृषि आदी मूल्याङ्कन गर्ने इन्जिनियरहरू आबद्ध छन् । संस्थाले आफ्नो सेवाहरूमा नैतिकता, गुणस्तर र व्यावसायिकताको उच्चतम मापदण्डहरू कायम राख्दै आएको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend