काठमाडौँ – देशका बिभिन्न ठाउँमा खेलकुद रङ्गशाला बनाउने अभियान चलिरहेको छ । चर्चित हास्य कलाकार धुमुस सुन्तलीले चितवनमा खेलकुद रङ्गशाला बनाउने भनेर अभियान समेत चलाएका छन् । यसै बिच गोलढुङ्गा खेलकुद समाजले खेलकुद रङ्गशाला निर्माणको सहयोगार्थ यही फागुन ४ गतेदेखि काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तर उन्नतिका लागि आयोजना गर्न लागिएको हो ।
संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रङ्गशालाको स्तरोन्नतीका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष राजेन्द्र अर्यालले गोलढुङ्गामा रहेको उक्त फुटवल रङ्गशाला प्रकृतिक रुपमा नै प्याराफिट सहितको रहेको र सरकारले अलिकति पनि आँखा लगाए मात्र पनि उक्त रङ्गशाला अन्तराष्ट्रिय स्तरको फुटवल रङगशाला बन्ने दावि गरे ।
उनले भने, ‘यस संस्थाका संस्थापक अध्यक्ष स्वः सुदर्शन आचार्यको सम्मान र यस क्षेत्रको खेलकुद पर्यटन विकासको लागि रङ्गशाला निमार्ण अपरिहार्य छ ।’समतिका अध्यक्ष अर्यालले महायज्ञबाट रंगशालाको न्यूनतम पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ संकलन गर्ने उद्देश्य रहेको बताए ।पत्रकार सम्मेलनमा बोल्दै श्रीमदभागवत महायज्ञका प्रमुख वाचक पण्डित शिरमणि दिनबन्दु पोखरेलले हालसम्म आफूले सामाजिक कामको लागि ६ सय भन्दा बढि भागवत बाचन गरेको बताउँदै खेलकुदको विकासका लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको बताए । आध्यात्मिक माध्ययमबाट समाजमा जागरण ल्याई वेद र बुद्धका गहन वाणी मार्फत समाज रुपान्तरणका लागि यस्ता महायज्ञ फलदायी हुने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend