काठमाडौं । हाल बैंकिङ क्षेत्रमा भइरहेको पक्राउ र धरपकडले यो क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंकर्स संघहरूले बताएका छन्।
फागुन १६ गते बुधबार बैंकिङ्ग क्षेत्रका छाता संगठनहरु, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै ‘पहिला सुन अनि थुन’ को नीति नलिई राज्यले ‘पहिला थुन अनि सुन’ को नीति लिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
यसअघि मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं आबद्ध चार कम्पनीलाई धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको भन्दै उनीहरू पक्राउ परेका थिए।
बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष सलंग्न नभएका व्यक्तिलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागीदार बनाइएको बैंकरहरूले बताएका छन्।
यस्ताखालका पक्राउका घटनाले बैंकरहरूको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्याएको उनीहरूले बताएका छन्।यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा असर पुग्ने बैंकरहरूले बताएका छन्।
बैंकहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको संघहरूको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend