बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित छन् : सीबीफीन

बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित छन् : सीबीफीन

७ फागुन, काठमाडौं  ।  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले सबै बैंक तथा वित्तीय संस्थाहरु सबल र सुरक्षित रहेका  बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुको सन्दर्भमा आएका चर्चाबारे आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै सीबीफीनले यस्तो बताएको हो ।

परिसंघले बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध फैलाइएको अफवाह, आशंका र अविश्वास बढाउने समाचारहरू प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

“मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोहीबमोजिमको कर्तव्य र भूमिकासमेत निर्वाह गर्दै लाखौं ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्ने कार्यहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को गम्भीर ध्यानाकर्षण भएको छ”, सिबिफिनले भनेको छ ।

२०८० पुस मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवम् सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको परिस‌ंघले जनाएको छ।

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न कानुनी व्यवस्था लागू गरिएको सिबिफिनले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend