बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शीर्षक :- सत्य एउटै छ ।

शीर्षक :- सत्य एउटै छ ।

– हरिभक्त सिग्देल ‘ महेश ‘
अनेक रूपका मान्छे अनेक जात जातिका
अनेकाैँ छन् यता भाषा धर्म भूगाेल भावका ।
भाषाभाषी अनेकौँ छन् रूपरङ्ग अनेक छन्
भालेपाेथी हुने सृष्टि मिलन चक्र एक झन् ।।
पक्कै छ हेर यो एक मात्र एक छ हेर त
पालन साथमा सृष्टि र संहारक कर्म त ।
प्रकृति वा भनाैँ देव सूक्ष्म अझै अदृश्यकाे
चलेकाे सृष्टि यो सारा सत्य एकै छ शक्ति त्याे।।
हाम्रा देव उता हाम्रा भाषा अन्य अनेककाे
समाज भिन्नता देव भाषा र हुन्छ नामकाे ।
पृथ्वी चन्द्र छ यो सूर्य निस्पक्ष यी भएसरि
मानेकाे छ यही शक्ति एकमात्र सराेबरी ।।
परमेश्वर यो देव ठाम गाम छ जे भन
एउटै छ परम् सत्य बुझ सृष्टि सबै जन ।
न देखिन्छ न यो चिन्ने शक्ति केन्द्र हुने कतै
एकमात्र छ सर्वत्र अदृश्यमा जताततै ।।
स्विकार्दैन कुनै मान्छे भाषा र स्वार्थ जातले
सत्य एकै छ सर्वत्र जप्दछन् सब आसले ।
मन्त्र ह्वैन छ नै धर्म आस्था ज्ञान भएपछि
सर्वत्र छ त्यही शक्ति सर्वत्र देखिएपछि ।।
आकाश अझ पाताल सारा सृष्टि सराेबर
अस्तित्व रूप यी हेर त्यही हुन्छ धराेहर ।
तेराे मेराे यता भाषा भेष धर्म र देवता
भेटिँदैन कतै भित्र भेद देखिन्छ एकता ।।
भाषा धर्म छ नै एक तत्त्व एकै छ गोड्दछ
स्वार्थले धर्म भाषाकाे गन्तव्य हेर माेड्दछ ।
अल्पज्ञानी भए स्वार्थी भेटिदैन कतै पनि
एकता हुन्छ यो सूत्र सर्वत्र उहीँ हुन्छ नि ।।
पाेल्ने शक्ति छ आगोमा पानीले त भिजाउँछ
पृथ्वी , सूर्य उता चन्द्र पक्षपातविहीन छ ।
मेराे बाटाे छ यो स्वार्थ ज्ञान मेरै छ दिग्गज
स्वार्थपूर्ति ठूलाे बन्न सत्य छाडी छ गज्मज ।।
माने एक छ यो धर्म एकमात्र छ देवता
एककाे नै गराैँ ध्यान मिल्छ आनन्द हेर त ।
सर्वत्र देव वा देवी प्रकृतिका चिराचिरा
चिन्तनाभित्र नै खुल्छ भेटिने छ यता हिरा ।।
दाजुभाइ सबै हामी सन्तान पनि एक छाैँ
भूगाेल र छ यो भाषा जातिमा मात्र भिन्न हाैँ।
मान्छे मान्छे छ यो एक शक्ति एकै छ सारमा
एउटै सत्य सर्वत्र अडेकाे छ अपारमा ।।
स्वर्ग कहाँ छ खै बाटाे परिलाउने काे छ र
पुगी आउँछ जाति काे यथार्थभित्र के छ र?
स्वर्ग ह्वैन निषेधाज्ञा कसैलाई हुने भए
पक्षपात भए नर्क निस्पक्ष हुन्छ स्वर्ग ए ।।
कुन जाति छ यो धर्मी जात भाषा र ठाउँकाे
जान हुन्छ भए स्वर्ग भन्ने खै कुन गाउँकाे ?
एकमात्र छ यो हुन्छ निस्पक्ष छ सबैप्रति
सत्कर्ममा रहे मिल्ने स्वर्गकाे सजिलो स्थिति ।।
– हरिभक्त सिग्देल ‘ महेश ‘

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend