बनेपा । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको सहकार्यमा (VG) ev भिजी मोटर्सद्वारा आयोजित पर्यटक सवारी चालकहरूको प्रशिक्षण कार्यक्रम २०८२ माघ १५ गते बिहीबार संयुक्त ड्राइभिङ ट्रायल सेन्टर, बनेपामा सम्पन्न भएको छ।
विषम परिस्थितिमा सडकमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा BG मोटर्स कम्पनीका प्रोडक्ट हेड श्री ज्ञानप्रसाद श्रेष्ठ, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका वर्तमान अध्यक्ष श्री भीम गोलेसहित संघका सम्पूर्ण पदाधिकारी तथा ठूलो संख्यामा पर्यटक सवारी चालकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चालकहरूको उच्च मनोबल अभिवृद्धि, सुरक्षित ड्राइभिङ सीप र व्यवहारिक प्रशिक्षणमा विशेष जोड दिइएको आयोजकले जनाएको छ। सडक सुरक्षालाई केन्द्रमा राख्दै भविष्यमै हुन सक्ने दुर्घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले प्रशिक्षणलाई प्रभावकारी ढंगले सम्पन्न गरिएको बताइएको छ।
संघका सचिव टेकबहादुर पुन मगरले कार्यक्रमबारे जानकारी दिँदै यस्तो प्रशिक्षणले पर्यटक सवारी चालकहरूको पेशागत दक्षता बढाउनुका साथै सुरक्षित र जिम्मेवार यातायात संस्कार विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए।
पर्यटन क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षित यातायात प्रवर्द्धनका लागि निजी क्षेत्र र व्यवसायी सङ्घबीचको सहकार्यलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend