काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारण सभा तथा १३औँ महाधिवेशन स्थगित गरिएको छ। माघ १५, १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने तय भएको महाधिवेशन प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू भएसँगै रोकिएको हो।
निर्वाचन आयोगले माघ ४ गतेदेखि नै प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता २०८२ लागू भइसकेको जानकारी गराउँदै महासंघलाई पत्र पठाएको थियो। आचारसंहिता लागू रहने अवधिभर साधारण सभा नगर्न निर्देशन दिएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो।
महासंघको स्थायी समितिको माघ ११ गते बसेको बैठकले अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा तथा निर्वाचनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
महासंघका महासचिव रोशन दाहालका अनुसार निर्वाचन आचारसंहिता हटेपछि कम्तीमा १५ दिनको म्याद राखेर महाधिवेशनको नयाँ मिति तय गरिनेछ। यद्यपि, यसअघि छनोट भइसकेका प्रतिनिधिहरू भने यथावत् रहनेछन्।
महासंघको विधानको दफा ९ को उपदफा १६ बमोजिम हाल कायम प्रतिनिधिहरू नै पछि हुने महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको महासंघले स्पष्ट पारेको छ।
निर्वाचन आयोगको आचारसंहिता महासंघ अन्तर्गतका सबै प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघ सदस्यहरूको साधारण सभामा समेत लागू हुने जनाएको छ। अन्य विषयहरू भने विधान र यसअघि प्रकाशित सूचनाअनुसार नै अघि बढ्ने महासंघको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend