काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार गैह्रिधारास्थित सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टरमा आयोजित सभाले बोनस शेयर र नगद लाभांश वितरणसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले हाल कायम चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सोको कर प्रयोजनार्थसहित तीन प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो। यसअनुसार शेयरधनीहरूले कर प्रयोजनका लागि समेत नगद लाभांश प्राप्त गर्नेछन्।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरूसहितको वित्तीय प्रतिवेदन पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
विशेष प्रस्तावअन्तर्गत बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई दुई अर्ब ६६ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुग्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय गरिएको छ। नियमावली संशोधनसँगै सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकलाई प्रदान गरिने बैठक भत्तासम्बन्धी व्यवस्था स्पष्ट पारिने भएको छ।
सभालाई सम्बोधन गर्दै सभाध्यक्ष बिमल प्रसाद वाग्लेले कम्पनीको प्रगति र उन्नतिमा निरन्तर साथ र विश्वास प्रदान गर्ने शेयरधनी, बीमित, पुनर्बीमा कम्पनी, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी, अभिकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। एनएलजी इन्स्योरेन्सले आगामी दिनमा सेवा विस्तार, सुशासन र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend