सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ECAN निर्वाचन: भारतीय अध्ययन गन्तव्यको एजेन्डासहित शिव प्रसाद अर्याल केन्द्रीय सदस्य पदका सशक्त उम्मेदवार

ECAN निर्वाचन: भारतीय अध्ययन गन्तव्यको एजेन्डासहित शिव प्रसाद अर्याल केन्द्रीय सदस्य पदका सशक्त उम्मेदवार

 

२७ पुष,काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी केन्द्रीय कार्यसमितिका लागि शिव प्रसाद अर्यालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। पुस २८ गते हुने ECAN को केन्द्रीय निर्वाचनमा उहाँ लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ नेतृत्वको प्यानलबाट सदस्य पदका सशक्त र चर्चित प्रत्यासीका रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो।

दुई दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय अर्याल भारतीय अध्ययन गन्तव्य प्रवर्द्धनका अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीका संस्थापक तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका अर्यालले भारतका विभिन्न शहरमा रहेका ६०० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष भ्रमण गरिसकेको अनुभव बटुल्नुभएको छ। यही अनुभव र व्यावसायिक दक्षताका आधारमा उहाँ ECAN भित्र नयाँ ऊर्जा र गन्तव्य विविधीकरणको एजेन्डा लिएर उम्मेदवार बनेर आउनुभएको छ।

नेपालमा अध्ययन गन्तव्यको बहस प्रायः यूके, अष्ट्रेलिया, क्यानडा वरिपरि सीमित हुँदै गएको अवस्थामा अर्यालले नजिकको, किफायती र सम्भावनायुक्त गन्तव्य भारतलाई संस्थागत रूपमा स्थापित गर्नुपर्ने धारणा अगाडि सार्नुभएको छ। उहाँका अनुसार अपार सम्भावना हुँदाहुँदै पनि भारतीय अध्ययन गन्तव्य गलत बुझाइ र केही अव्यवसायिक अभ्यासका कारण ओझेलमा परेको छ।

“ECAN भित्र भारतलाई अध्ययन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने कन्सल्टेन्टहरूको संख्या निकै न्यून छ,” अर्यालले भन्नुभयो, “यही रिक्ततालाई पूर्ति गर्दै भारतलाई सुरक्षित, भरोसायोग्य र किफायती अध्ययन गन्तव्यका रूपमा स्थापित गर्नु मेरो मुख्य एजेन्डा हो।”

विगतमा केही भारतीय विश्वविद्यालय तथा कलेजहरूको कमजोर अभ्यासका कारण भारतलाई मुख्यधारको अध्ययन गन्तव्य बनाउन चुनौती आएको स्वीकार्दै अर्यालले अब संस्थागत पहल, पारदर्शिता र उत्तरदायित्वमार्फत त्यो धारणा बदल्ने समय आएको बताउनुभएको छ। उहाँ ECAN केन्द्रीय समितिमा निर्वाचित भए भारतीय शैक्षिक संस्थाहरूलाई परामर्शदातामाझ व्यवस्थित र विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न निर्णायक भूमिका खेल्ने दाबी गर्नुहुन्छ।

अर्यालका अनुसार उहाँको उपस्थितिले अभिभावक र विद्यार्थीहरूलाई गुणस्तरीय, सुलभ र किफायती अध्ययन विकल्प उपलब्ध गराउने वातावरण बन्नेछ। साथै भारतीय विश्वविद्यालय तथा कलेजहरूलाई पनि यूके, अष्ट्रेलिया लगायतका गन्तव्यसरह व्यावसायिक, पारदर्शी र उत्तरदायी बनाउन ECAN को संस्थागत दबाब र सहकार्य आवश्यक रहेको उहाँको बुझाइ छ।

चुनावी अभियानका क्रममा अर्यालले भारतीय शैक्षिक संस्थासँगको सहकार्यलाई अझ परिपक्व, व्यवस्थित र व्यवसायिक बनाउने स्पष्ट कार्ययोजना अघि सार्दै सम्पूर्ण ECAN सदस्यहरूको साथ, सहयोग र अमूल्य मतको अपिल गर्नुभएको छ।

अनुभव, स्पष्ट दृष्टिकोण र अध्ययन गन्तव्य विविधीकरणको बलियो एजेन्डासहित शिव प्रसाद अर्यालको उम्मेदवारीलाई ECAN भित्र अर्थपूर्ण, समयसापेक्ष र दीर्घकालीन महत्व बोकेको कदमका रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend