२३ पुष,काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। यही पुस २८ गते हुने २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएपछि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो।
ईक्यानका अनुसार अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। हालका प्रथम उपाध्यक्ष एन्ड्र्यु पौडेल, लक्ष्मण नामले परिचित, र वर्तमान महासचिव दीपकराज भुसाल अध्यक्ष पदका प्रत्याशी बनेका छन्। यसअघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी गीता शिवाकोटी, गीताञ्जली, पछि हटेपछि अब दुई जनाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, छ उपाध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्ष पदका उम्मेदवारमा रत्नबहादुर भट्टराई, विकल्पराज पाख्रेल, फिलिपकुमार डाँगी क्षेत्री, मञ्जित ढकाल, पुष्पराज भट्टराई, बासुदेव दाहल र गीता शिवाकोटी रहेका छन्।
महासचिव पदका लागि भवननाथ हुमागाईं र नवराज केसी खत्रीबीच प्रतिस्पर्धा हुने भएको छ भने दुई सचिव पदका लागि लालबहादुर तामाङ, भूपाल केसी, आशिष कार्की र सुरज सिलवालले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्ष पदमा उमा खड्का पाठक र साधना पुडासैनी उम्मेदवार बनेका छन्। सह–कोषाध्यक्ष पदका लागि भीमबहादुर थापा र गोविन्द खनालको उम्मेदवारी परेको छ।
यस्तै, नौ सदस्य पदका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सदस्य पदका उम्मेदवारमा अशोककुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमलप्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिवप्रसाद अर्याल रहेका छन्।
यसरी पुस २८ गते हुने साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षसहित १८ पदका लागि ३४ जनाको उम्मेदवारी परेको ईक्यानले जनाएको छ।
अध्यक्ष पदका उम्मेदवार एन्ड्र्यु पौडेलले ईक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद र सदस्यहरूको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
निर्वाचनका लागि दुवै पक्षले तयारी तीव्र पारेका छन्। भुसाल प्यानलतर्फ उपाध्यक्ष पदका उम्मेदवारमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्पराज पाख्रेल र रत्न भट्टराई रहेका छन्। भुसाललाई ईक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको बताइएको छ। भुसालका प्रस्तावक प्रकाश पाण्डे र समर्थक शेषराज भट्टराई रहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend