काठमाडौं । फियन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०८२ पुस १५ गते मंगलबार, काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सम्पन्न भएको छ। सभा संस्थाका अध्यक्ष बासुदेव खत्रीको अध्यक्षतामा संचालन भएको थियो। सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र संस्था अनुगमन उप–समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो। यी प्रतिवेदनहरूले आर्थिक वर्ष २०८१/०८२ को अवधिमा संस्थाको वित्तीय अवस्था, कारोवार, जोखिम व्यवस्थापन र भावी रणनीतिबारे विस्तृत जानकारी दिएका थिए। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनअनुसार, उक्त वर्षमा संस्थाको कुल चुक्ता शेयर पूँजी ९४ लाख ५३ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा संस्थाले ४ करोड ८० लाख ४९ हजार ९०४ रुपैयाँ बचत संकलन गरेको छ भने ४ करोड ६६ लाख ४८ हजार २५६ रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, संस्थाको नगद तथा बैंक मौज्दात १ करोड ४४ लाख ८७ हजार ७१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
सभामा प्रस्तुत विवरणअनुसार, संस्थाले कर्जा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कर्जा लगानीको गुणस्तर सुधारमा ध्यान दिएको छ। कुल कर्जा लगानीलाई सामान्य, ध्यानयोग्य, कमजोर र खराब कर्जामा वर्गीकरण गरी व्यवस्थापन गरिएको थियो भने खराब कर्जा तर्फ ९ लाख ६४ हजार रुपैयाँ व्यवस्थापन गरिएको जानकारी दिइयो। वार्षिक साधारणसभाले सञ्चालक समिति र विभिन्न समितिहरूले गरेका निर्णयहरू अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि नीतिगत र कार्यक्रमगत कार्ययोजना पारित गरेको छ। अध्यक्ष दमकु श्रेष्ठले सहकारी संस्थालाई सुरक्षित, पारदर्शी र सदस्य–केन्द्रित रूपमा सञ्चालन गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको उल्लेख गर्दै, सदस्यहरूको निरन्तर सहयोगले संस्थाको विश्वास र स्थायित्व बलियो बनिरहेको बताए। कार्यक्रममा विभिन्न समितिका पदाधिकारी, शेयर सदस्य तथा आमन्त्रित अतिथिहरूको उपस्थिती रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend