११ माघ ,पर्सा । राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा आफ्नो नयाँ कार्यालय स्थापना गर्दै अभियानलाई थप सशक्त बनाउने घोषणा गरेको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पर्सामा आयोजित एक विशेष कार्यक्रममा कार्यालयको उद्घाटन गर्दै नेपालको पहिचान, सामाजिक एकता र स्थायित्वको संरक्षण गर्दै देशव्यापी गतिविधि विस्तार गर्ने योजनाको घोषणा गरेका छन् ।
प्रमुख अतिथिका रूपमा संरक्षक सेवक सौरभनाथ महाराजको उपस्थिति रहेको सो कार्यक्रममा अभियानका अध्यक्ष यादवले राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य ध्येय रहेको बताउँदै अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
त्यस्तै ,अभियानले आफ्नो भूमिका प्रभावकारी बनाउन स्थानीयस्तरमा पनि सक्रियता बढाउने प्रतिबद्धता जनाएको छ।
अभियानले चिनियाँ विस्तारवाद, इस्लामिक अतिवाद, र संघीय हिन्दू गणतन्त्रको स्थापनालाई आफ्नो मुख्य उद्देश्य बनाएको छ।कार्यक्रममा केन्द्रीय सदस्य ओमबाबु यादव र अरविन्द त्रिपाठीले सम्बोधन गर्दै अभियानका उद्देश्य र महत्वलाई स्पष्ट पारे। अभियानका नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिहरूको आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई खतरनाक करार गरे। उनीहरूले विदेशी प्रभावलाई रोक्न र नेपालको स्वाभिमान जोगाउन सरकारको उदासीनता अन्त्य गर्नुपर्ने माग गरे।
कार्यक्रम पर्सा जिल्ला संयोजक बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन केन्द्रीय सदस्य राजेश यादवले गरेका थिए। जिल्लास्तरीय गतिविधि र अभियानलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरूबारे पनि छलफल भयो।
नेताहरूले अभियानको भावी योजनाहरूबारे चर्चा गर्दै समाजमा देशभक्तिपूर्ण भावना जगाउन जोड दिए। उनीहरूले सामाजिक एकता र स्थायित्वलाई प्रोत्साहन गर्न अभियानको भूमिकालाई महत्त्वपूर्ण बताउँदै थप सशक्त कार्यनीति आवश्यक रहेको बताए।
अभियानले चिनियाँ विस्तारवादको विरोध र नेपालका आन्तरिक मामिलामा विदेशी हस्तक्षेपलाई रोक्न कडा कदम चाल्न सरकारलाई सचेत गराउँदै आएको छ। नेताहरूले ओली सरकारले चीनसँग गरेको सहमतिको समीक्षा गरी राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend