९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूलाई रणनीतिक योजना बनाएर समस्याको समाधानमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्। मंगलबार ( ८ माघ ) अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले वित्तीय संस्थाको विश्वसनीयता कायम राख्दै खराब कर्जाको आकार घटाउन र प्रतिफलमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन।
अर्थमन्त्री पौडेलले आवश्यक नीति र कानून निर्माणमा अर्थ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्न सामान्य प्रगतिले नपुग्ने भन्दै सार्थक र दीर्घकालीन प्रभाव पर्ने कदम चाल्न आग्रह गरे। “समस्यालाई समाधान गर्न आ-आफ्नो जिम्मेवारी भित्र रही काम गर्न आवश्यक छ,” मन्त्री पौडेलले भने।
उक्त बैठकमा सरकारी बैंक र वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारीहरूले कर्जा असुलीमा देखिएका समस्या र पूँजी वृद्धि तथा लगानी विस्तारका विषयमा आफ्नो धारणा राखे। बैठकमा अर्थ सचिव, राजस्व सचिव, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, र निक्षेप तथा कर्जा सुरक्षण कोषका उच्च अधिकारीहरूको उपस्थिति थियो। त्यस्तै , सरकारी वित्तीय संस्थाहरूलाई रणनीतिक रूपमा सुदृढ गर्दै प्रभावकारी वित्तीय प्रणाली निर्माण गर्न अर्थ मन्त्रालयले सहजीकरणको पहल गर्ने प्रतिबद्धता गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend