बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अर्थतन्त्रमा सुधारको संकेत छन् , ‘कन्ट्री रेटिङ’ सकारात्मक : गभर्नर अधिकारी

अर्थतन्त्रमा सुधारको संकेत छन् , ‘कन्ट्री रेटिङ’ सकारात्मक : गभर्नर अधिकारी

१७ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रका  केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राख्न सकेको बताएका छन्  । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै गभर्नर अधिकारीले यो नेपालका लागि एउटा सफलता भएको उल्लेख गरेका छन् ।

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको गभर्नरले बताए । पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् । गर्भनर अधिकारीले भने,“मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधिहरू केही सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याएको छ।”

अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी गरेका छन् । “२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठूला भएका छन् । सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ । यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,” उनले थपे ।

गर्भनर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ । उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए । “ठ्याक्कै जादुको छडीजस्तो केही छैन ।

“योजनाहरूलाई समयमै कार्यान्वयन गर्नु आवश्यक छ”, गर्भनर अधिकारीले भने । अधिकारीले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरेका छन् । उनले गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेको भन्दै जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा जोड दिए । गर्भनर अधिकारीले भने,“तपाईंहरूले लेख्ने समाचार जनताको लागि हो। सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा पुग्छ ।”

त्यस्तै , हालका केही युट्युब भिडियोहरूलाई उदाहरण दिँदै एकतर्फी सूचना प्रवाहले विकृति निम्त्याएको गभर्नरले उल्लेख गरे। “कतिपय भिडियोहरूमा भित्री वास्तविकता अर्कै हुँदाहुँदै बाहिर बेग्लै कुरा प्रस्तुत गरिन्छ। यसले अन्य क्षेत्रमा विभिन्न विकृतिहरू ल्याएको छ,” उनले भने।

गभर्नर अधिकारीले पत्रकार र राष्ट्र बैंकबिच सहकार्य आवश्यक रहेको भन्दै कार्यक्रम आयोजना गर्नुअघि परामर्श गर्न सकिने बताए । “हामी तपाईंहरूको नजिक छौं। टाढा रहँदैनौं। कुनै कार्यक्रम गर्न लाग्नुभएको छ भने हामीलाई पनि भन्न सक्नुहुन्छ,”उनले भने । यस भेटघाटमा अधिकारीले संचार माध्यमले राष्ट्र बैंकसँग सम्बन्धित विषयमा गहन जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend