सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । बुधबार एक समारोहकाबीच ५९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताए । डा. महतले सीमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए । अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताए । उनले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताए ।

डा. महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए । उनले कार्यक्रममा बैंकको ५९ औँ वार्षिकोत्सव अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गरे । कार्यक्रममा पूर्व कर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट÷उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्त्वपूर्ण योगदान हुने गरेको बताए । नेपाल राष्ट्र बैंकले लिन नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend