खबरब्रेकिंग,काठमाडौँ, माघ ७ गते । कृषि विकास बैंकले आफ्नो ५७ औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको प्रशंसा समेत गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले बैंकको वित्तीय विवरणको प्रशंसा गरेका हुन ।
कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २८ करोड रुपैयाँ ऋणात्मक थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकले लोनलस प्रोभिजनवापत १ अर्ब ९ करोड रुपैयाँ छुट्याएको छ ।

त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ । गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । बैंकको निष्क्रिय कर्जामा सुधार देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ४.५२ प्रतिशत रहेकोमा अहिले ३.०२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८७.५४ प्रतिशतबाट ७६.४६ प्रतिशतमा झरेको छ ।
आधार दर ९.८२ प्रतिशत छ भने निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.९७ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको सञ्चित नाफा कुल ७५ करोड २१ लाख रुपैयाँ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend